
सिरहा, मधेश — “दीगो विकासको आधार शिक्षा हो”, यो भनाइलाई व्यवहारमा उतार्न सकिएको भए, आज मधेशको मुहार फरक हुने थियो। तर, शिक्षा अझै मधेश प्रदेशको नीतिगत कमजोरीको गहिरो प्रतिबिम्ब बनेको छ। संघीय संरचनाले स्थानीय निकायलाई अधिकार दिएको भए पनि शिक्षा पहुँचमा भने अझै पनि हजारौं बालबालिकाहरूको जीवन अध्यारोमा हराइरहेको छ।
हालै Padmoday Foundation(पद्मोदय फाउन्डेशन) द्वारा गरिएको एक गहिरो अध्ययनले यथार्थ उजागर गरेको छ – मधेशका ग्रामिण भेगहरूमा गरीब र विपन्न समुदायका बालबालिकाहरू अझै पनि विद्यालयको पहुँचबाट टाढा छन्।

फाउन्डेशनका अध्यक्ष दिपेन्द्र महतोका अनुसार, “शिक्षा भनेको केवल किताब र कलम होइन, यो मानव सम्मान र अवसरको विषय हो। हामीले विगत केही वर्षमा २,००० भन्दा बढी बालबालिकाहरूलाई शैक्षिक सामग्री र विद्यालय पोशाक प्रदान गरेर विद्यालयमा फर्काउने प्रयास गरेका छौं।”
तर, यो प्रयत्न आफैँमा पर्याप्त छैन। दीर्घकालीन योजना र सामाजिक संघसंस्थाबीचको सहकार्य विना मधेशको शिक्षामा दीगो परिवर्तन सम्भव देखिदैन।
प्राप्त तथ्यांक अनुसार, मधेश प्रदेशको साक्षरता दर ५२% मात्र छ – जुन नेपालको सबैभन्दा कम दर हो। त्यसमाथि, महिला साक्षरता दर झनै चिन्ताजनक – केवल ४०% को हाराहारीमा रहेको छ। यो तथ्यले मधेशमा महिलाहरू दोहोरो अन्यायको शिकार छन् – जातीय, आर्थिक विभेद त छँदैछ, त्यस माथि अशिक्षाको अभिशापले उनीहरूको सम्भावनामा तगारो बनेको छ।
दोषारोपणको दौडमा सम्बन्धित निकायहरू आफ्नो जिम्मेवारीबाट पन्छिँदै आएका छन्। शिक्षा मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र संघीय सरकारबीच समन्वयको अभावले योजना कागजमा मात्र सीमित रहँदै आएको छ।
तर आशाको दियो अझै बलेको छ। सामाजिक संघसंस्थाहरू मध्ये पद्मोदय फाउन्डेशनजस्ता संगठनहरूको सक्रियताले शिक्षा क्षेत्रमा नयाँ ऊर्जा भर्ने संकेत देखिन्छ। यी संस्थाहरूले ‘सरकारी प्रणाली असफल हुँदा नागरिककै प्रयासले उज्यालो ल्याउन सकिन्छ’ भन्ने सन्देश दिन थालेका छन्।
शिक्षा केवल किताबको कुरा होइन – यो भविष्य बनाउने यात्रा हो। र, मधेशले अब ढिलो नगरी त्यस यात्रामा सामूहिक रूपले अघि बढ्नुपर्ने समय आएको छ।






